अत्तरिया - आज भदौ १ गते अर्थात ओल्के पर्व ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर सहित पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व आज हर्षोउल्लासका साथ मनाइदैछ ।
प्रत्येक बर्ष भदौ १ गते मनाइने ओल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । आजका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको छ ।
विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् ।
सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजो यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ ।
शुक्रवार ओल्के पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।