अत्तरिया - हिन्दु नेपालीहरुको दोस्रो महान चार्ड यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व । हरेक दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइ टीकाको साइत आज मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।
उत्तम साइत बाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्रा्ष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले जानकारी दिए । समितिले विभिन्न देशमा रहेका हिन्दूहरूका लागि फरक–फरक साइत निर्धारण गरेको जनाएको छ । टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको हो ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गर्दछन् ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ ।