अत्तरिया - सुदूरपश्चिम प्रदेशमा गौरा पर्व कहिले मनाउने भन्ने बिषयमा विवाद भई रहेका बेला प्रदेश सरकारले गौराका लागि दुई दिन बिदा दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा गौरा पर्व मनाउनका लागि प्रदेश सरकारले अगामी भाद्र ७ र ८ गते गौरा पर्वको बिदा दिएको हो । सुदूरपश्चिमेलीको प्रमुख पर्व गौरा भदौ ७ गते मनाइने भएको छ । गौरा पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सोही अनुसार नेपाल सरकार र प्रदेश सरकारले बिदा दिएको हो ।
कतिपय ज्योतिषहरुले यो बर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ ।
सरकारले भदौ ७ र ८ गते गौराको सार्वजनिक बिदा दिएपनि यो बर्ष दुई दिन गौरा हुने निश्चित भएको छ । कतिपय ठाउँमा भदौ ७ गते र कतिपय ठाउँमा भदौ २१ गते गौरा हुने निश्चित भएको स्थानीयहरुले बताएका छन् ।
गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।
गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।