भक्तपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अन्तरघातको नामै सुन्न नचाहेकाले आसन्न उपनिर्वाचनमा कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुभ दीपावली २०७६, नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) तथा छठको अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले सोमबार गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त निर्देशन दिएका हुन्। उनले उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न भएको जिकिर गरे।
‘म अन्तरघातको नामै सुन्न चाहन्न’, सभापति देउवाले भने, ‘यो जीवनमरणको प्रश्न छ। त्यसैले सबै एकजुट भएर चुनावमा लाग्नुपर्छ।’उनले भक्तपुरको चाहनाअनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने स्पष्ट पारे।
सभापति देउवाले सरकारले विधेयकमार्फत व्यक्तिगत सम्पत्तिको रुपमा रहेको जग्गामा नियन्त्रण गर्न खोजेको भन्दै आक्रोश पोखे।
संविधानमै मौलिक हकको रुपमा रहेको जग्गा जमिनबाट व्यक्तिहरुलाई हटाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो। मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भन्दै उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन आउँदो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे।
‘कम्युनिष्ट सरकारले जनताले तिर्नै नसक्ने गरी कर बढाएको अवस्था छ’, सभापति देउवाले थपे, ‘अर्कोतिर उपभोक्ता समितिको नाउँमा यत्रो भ्रष्टाचार बढेको छ। वर्णन नै गर्न नसकिने भएको छ। त्यसैले यसबाट मुक्ति पाउन जनताले उपनिर्वाचनमा कांग्रेसलाई जिताएर देखाउनु पर्छ।’