कैलाली - कैलालीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको छ ।
जिल्लाको भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई राखिएको छ । बाढिका कारण घर डुबानमा परेपछी गर्भवती, सुत्केरी, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई केन्द्रमा राखिएको हो ।
केन्द्रमा अहिले २१ बच्चा, ५ गर्भवती, ६ सुत्केरी, ७ अन्य महिला, १ किशोर र १ ज्येष्ठ नागरिक गरी ४२ जना राखिएका छन् । केन्द्रमा बसेका महिलाको स्वास्थ्य परीक्षण, पोषणयुक्त खानेकुराको व्यवस्था नगरपालिकाले गरेको छ ।
बाढीले तनाव रहेकाहरूमा मनोसमस्या सिर्जना नहोस् भनी उनीहरूलाई खुसी राख्ने प्रयास गरिएको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले बताए ।
“यसरी स्नेह केन्द्रमा बसिरहेकालाई योग कक्षासहित, मनोरञ्जन, उपचार सेवा र खानपानको राम्रो व्यवस्था गरिएको छ”, उनले भने, “बाढीले सयौँ परिवार विस्थापित छन्, विस्थापितमध्ये महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले स्नेह केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।”
विस्थापित अधिकांश उच्च भवन तथा हुलाकी सडकमा बसिरहेका छन् । सबैलाई यसैगरी पालिकाले राख्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ ।
यही साउन २२ गते आएको बाढीले भजनी नगरपालिकामा नौ सय ९९ परिवार विस्थापित भएका छन् । बाढीले दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन् । विस्थापित केही पानी घटेपछि घर फर्किएका छन् । भजनीमा बाढीका कारण पूर्ण रूपमा २ घरमा क्षति भएको छ । त्यहाँ अहिले पनि १५ परिवार उच्च जोखिममा छन् ।