अत्तरिया - लगातार परिरहेको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग एक सातापछि आंशिक रुपमा खुलेको छ ।
गत २२ गते सोमवार रातीको अविरल वर्षापछि अवरुद्ध भएको राजमार्ग आंशिक रुपमा खुलेपनि सुचारु हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा गएको पहिरो पन्छाइएपछि राजमार्ग आंशिक रुपमा खुलेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पहिरो पन्छाए पनि उक्त क्षेत्रमा हिलो र दलदल कायमै रहेका कारण सुदूर पश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग सुचारु हुन सकेको छैन । तत्काल राजमार्ग आंशिक रुपमा सञ्चालनमा आए पनि जोखिम कायम हुँदा ढुक्क हुने अवस्था नरहेकाले जेसीबी, एक्साभेटर र लोडर तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
एकसातादेखि सुदूरका पहाडी जिल्लाहरुको तराईका जिल्लाहरुसंगको यातायात सम्पर्क विच्छेद भएको छ । भिमदत्त राजमार्गको वैकल्पिक मार्ग नहुँदा यातायात सम्पर्क विच्छेद भएको छ ।
राजमार्ग अवरुद्ध भएसंगै पहाडी जिल्लामा अत्यावश्यक वस्तुहरुको अभाव हुन थालेको छ । सुदूरका पहाडी जिल्ला जोड्ने एकमात्रै भिमदत्त राजमार्ग भएकाले यो राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।
तराईका जिल्लाबाट पेट्रोलियम पदार्थ ढुवानी नहुँदा पेट्रोलियम पदार्थको अभाव हुनुका साथै खाद्यान्नका सामग्रीहरुको अभाव देखिन थालेको छ ।
राजमार्ग एकतर्फी सञ्चालन भएपनि दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । नयाँ ट्र्याक खालेको ठाउँमा माटो गिलो र पानी जम्ने भएका कारण दुई तर्फी बाटो संचालान गर्न कठिनाइ भएको छ ।