अत्तरिया - मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।
आज सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
सोमवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका १–२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
सोमवार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।