अत्तरिया - गत सोमवारदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिका–८ का किसान रमेश चौधरीको २ बिघा जमिन कटान गरेको छ ।
गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएपछी उनी अहिले चिन्तामा रहेका छन् । ‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्यो,’ उनले भने । बाढीले उनको मात्रै होइन, भजनी वडा नम्बर ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ ।
भजनी नगरपालिकाले पालिकामा ६ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले जानकारी दिए । जसमध्ये वडा नम्बर ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको उनले बताए । ‘नगरको वडा नम्बर ३, ५, ६, ७ र ८ मा गरी ६ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ,’ उनले भने, ‘धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।
’बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनको भनाइ छ । ‘कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ,’ उनले भने ।
बाढी अहिले पनि नघटेको भन्दै पानीको सतह घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ ।
भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ ।