कञ्चनपुर - जिल्लामा पहिलो पटक अमेरिकी फौजी किरा देखा परेको छ । जिल्लामा पहिलो बालीनाली सखाप पार्ने अमेरिकी फौजी किरा देखा परेपछि किसानहरुले लगाएको तरकारी , मकै लगाएतका अन्य बालीहरु जोगाउन निकै चुनौती बढेको छ ।
सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक कञ्चनपुरमा फौजी किरा फेला परेको कृषि ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट्ले बताए । पुर्वी जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, ललितपुर लगायतका किसानले लगाएको बालीमा देखा परेको फौजी किरा कञ्चनपुरमा पनि देखा परेकाले तरकारी , मकै, उखु बाली जोगाउन किसानहरु चनाखो हुनु पर्ने बताए ।
उनले फौजी किरा छिटो छिटो रुपमा बसाइँ सार्ने भएकाले यसलाई नियन्त्रण गर्न चुनौती हुने देखिएको उनले बताए । फौजी किराको लार्भाले मकै, उखु र तरकारी बालीलगायत ३५३ बालीमा नोक्सानी र्पुयाउने उनले जानकारी दिए । फौजी किराकै कारण अफ्रिकालगायतका देशहरुले खाद्यान्न संकट व्यहोर्नु परेको बताउदै कार्यालय प्रमुख भट्टले यस्तो किराको प्रकोप जाहा काही देखा परेपनि कृषि शाखाहरुमा खवर गर्न सबै किसानहरुमा आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयले फौजी किराको प्रकोपबाट बाली बचाउन र पहिचान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको निर्देशनअनुसार प्रदेश स्तरमा कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको छ ।
महाकाली नगरपालिका–५ चाँदनीका पान्नु भण्डारीले घाँसका लागि लगाएको मकै बालीमा फौजी किरा देखा परेका हो । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक सत्यराज जोशीसहितको टोलीले किसानको मकै बालीमा लागेको फौजी किरा भएको पुष्टि गरेका छन्।