अत्तरिया – लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको चौथो दिन पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । मर्मत संभार कार्य प्रभावित नभए आज (शुक्रवार) साँझसम्म भने राजमार्ग खुल्ने बताईएको छ ।
सोमबार रातीको अविरल वर्षापछि बिभिन्न स्थानमा गएको पहिरो र भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडक खण्ड भासिएका कारण यातायात सेवा अवरुद्ध भएको हो । मंगलवार बिहानैदेखी पहिरो पन्छाउने काम भैरहेपनि अझैसम्म अवरुद्ध राजमार्ग सञ्चालनमा आउन सकेको छैन ।
सडक खन्दा माथीबाट दलदल खसीरहेकाले भासिएको सडक मर्मत संभार र पहिरो हटाउन बाधा भएको बताईएको छ । पहिरो हटाउन तथा मर्मत संभारका लागि बुढीतोला सडक खण्डका दुबै तर्फ सडक बिभागले काम गरिरहेको छ ।
पहिरो हटाउन र भासिएको सडक मर्मतका लागि सडक डिभिजन कार्यालयले पाँच वटा डोजर लगाएको छ । सडक खुलाउने कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिएको छ ।
यस्तै पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग ४ दिन सम्म पनि सन्चालनमा नआऊदा पहाडी जिल्लाहरुमा उत्पादित लाखौंको तरकारी खेर जान थालेको डडेल्धुराको भागेश्वर गाउँपालिका-१ बगरकोटका तरकारी संकलक अर्जुन जोशीले बताए ।
"सोमवारदेखि सडक अवरुद्ध हुँदा हामीले धनगढी र महेन्द्रनगरका लागि पठाएको तरकारी बाटोमै कुहिएको छ," उनले भने, "किसानको तरकारी बारीमा बिक्रीका लागि तयार छ तर बाटो अझै नखुले थप मर्का हुने भएको छ।" डडेल्धुराबाट धनगढी, महेन्द्रनगर र नेपालगन्जका लागि सोमवार पठाइएको तरकारी बाटोमै कुहिएर फाल्नु परेको किसानहरूले बताएका छन् ।
अविरल वर्षाका कारण पहिरो सहित सडक भासीएपछी सोमबार राती देखी यातायात ठप्प रहेको छ ।