डडेल्धुरा- सोमबार रातिदेखिको अविरल वर्षाका कारण डडेल्धुराको भित्री मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बाढीपहिरोले भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ । अविरल वर्षासंगै सुनखोलामा आएको बाढीले आलितालको गोदाम बजारदेखि गाउँपालिकाको केन्द्र जोड्ने मोटरेबल पुलमा क्षति गरेको छ । उक्त मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको आलिताल गाउँपालिकाले जनाएको छ ।
भित्री मधेस क्षेत्रलाई जोड्ने बुडर–जोगबुडा सडक खण्डको सुनखोलामा पहिरोले सडक अवरुद्ध भएको छ । एक मात्र सडक खण्ड अवरुद्ध हुँदा जिल्लाकै आधा जनसंख्या रहेको भित्री मधेस क्षेत्रमा सडक सञ्जाल टुटेको इलाका प्रशासन कार्यालय जोगबुडाले जनाएको छ ।
त्यस्तै आलिताल गाउँपालिका–८ स्थित भंगेरी खोलाले सडक भत्काएको छ । आलिताल–४ को जालटुडाँमा खोलाले सडक अवरुद्ध गरेको छ । वर्षाका कारण आलितालको घुम्ती बजारका केही घरहरू पनि जोखिममा परेका छन् । माथिबाट आएको सुनखोलाले बस्तीलाई जोखिममा पारेको स्थानीय अगुवा शर्मानन्द जोशीले बताए ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गंगादत्त बडुका अनुसार भित्री मधेस क्षेत्रका दर्जनौं बस्ती बाढीको उच्च जोखिममा रहेका छन् । परशुराम नगरपालिकाका सिमलखेत, ठण्ठाजाला, पटरेनी, बसगोइरा, कुडाँ, छेला, तातापानी, बण्ड, भौरकुण्डा, खालिगडा, कराली, साँदनी, ठुलागडा, लामीगडा, जमेरानी, करेनी, सिमलवन्डा, फल्लेखर्क, कौछाडी, बेल्डाडीलगायतका बस्तीहरूमा स्थानीय खोलाहरूमा आएको बाढीले कटान गरिरहेको प्रहरीले जनाएको छ ।
आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ । निरन्तर भइरहेको वर्षाले गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलामा बाढी आउँदा डाइनी गाउँ उच्च जोखिममा रहेको स्थानीय शिक्षक रमेश बोहराले बताए । यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेका छन् ।
यसै गरी बाढी र पहिरोका कारण भित्री मधेस क्षेत्रका विभिन्न ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । पहिरो र बाढीले भित्री मधेस क्षेत्रका ग्रामीण सडकहरू अवरुद्ध हुँदा एक बस्तीबाट अर्को बस्तीको सम्पर्क टुटेको स्थानीय भूपेन्द्र धामीले बताउनुभयो ।
बाढीले परशुराम नगरपालिका–६ सरगौडा सिमलखेतमा बस्ती जोगाउनका लागि सिँचाइ कार्यालय डडेल्धुराले निर्माण गरेको तारजाली तटबन्धमा क्षति गरेको छ । बाढीले सादनी खोलामा लगाइएको तटबन्ध पनि भत्काएको छ । एसईई ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरू पुन्तुरा खोलामा पुल नहुँदा जोखिम मोलेर तर्न बाध्य भएको स्थानीय शिक्षक वीरेन्द्रबहादुर साउदले जानकारी दिनुभयो ।
भित्री मधेस क्षेत्रसँगै जिल्लाको पहाडी क्षेत्रमा पनि बाढी पहिरोको सन्त्रास कायमै रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बाढी र पहिरोको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।