काठमाण्डौ -
प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गरे । यस्ता गतिविधिलाई निस्तेज पार्न तयारी अवस्थामा रहन पार्टीका तरुण तथा विद्यार्थीहरुलाई उनले निर्देशन दिए ।
नेपाल तरुण दलले आइतबाार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएको उल्लेख गरे ।
यी जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन पनि तरुण दललाई उनले सचेत गराए । सभापति देउवाले ६६ वर्ष अघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरी निरंकुशता लादेको स्मरण गराए ।
तरुण दल दुई गुटमा
नेपाल तरुण दलले ६६ औं स्थापना दिवस मनाएको छ । तर दुई गुटमा विभाजित भएर मनाएको हो ।अध्यक्ष जीतजंग बस्नेत समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा कार्यक्रम गरेको छ भने महासचिव भुपेन्द्रजंग शाही समूहले सामखुसीमा ।बस्नेत समूहको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सहभागी भए । उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका संस्थापन पक्षका नेताहरु पनि उपस्थित थिए ।सामखुसीमा भएको कार्यक्रममा डा. रामशरण महत, शेखर कोइराला, गुरुराज घिमिरेसहितका नेताहरु ।