काठमाडौं - यस वर्ष शुरू भएको मौसमजन्य विपदबाट देशैभर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् ।
त्यसैगरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । वर्षाका कारण ४५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरु अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
बाढी र पहिरोले देशभरिमा अहिलेसम्म २० हजारभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । बाढी र पहिरोका कारण घर गोठ भत्किएर अलपत्र परेका मानिसलाई सुरक्षित स्थानमा लैजाने काम भएको छ ।
त्यसैगरी बाढी र पहिरोका कारण मुख्य तथा सहायक राजमार्ग र सरकारी तथा निजी सम्पत्ति ४ अर्ब ४५ करोड भन्दा बढीको भौतिक क्षति भएको छ । वर्षाका कारण देशैभरका चार राजमार्गका विभिन्न खण्ड पूर्णरुपमा र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् ।
आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।
धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको बुढीतोला–खानीडाँडा क्षेत्र पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।
बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् ।
केही दिनयता बंगालको खाडीबाट न्यूनचापीय रेखा पूर्वी नेपालमा प्रवेश गरेका कारण शुरू भएको अविरल वर्षाले देशभरका मुख्य तथा सहायक नदीको जलप्रभाव बढेकाले मंगलवारदेखि बिहीबारसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।