अत्तरिया - सोमबार राति वर्षासँगै आएको बाढी-पहिरोले कैलालीको धार्मिक पर्यटकीयस्थल गोदावरी धाममा ठूलो क्षति पुर्याएको छ।
सोमबार राति १० बजेपछि आएको वर्षाले धाममा निर्माण गरिएका भौतिक संरचनामा करोडौं को क्षति पुर्याएकाे हाे। अहिले सम्म गोदावरीमा कुम्भमेला यता ३ करोड माथि लगानी भईसकेको छ । गएरातीको बाढीले प्राय सबै जसो यँहा निर्मित संरचना मा क्षती पुर्याएको छ ।
यँहा रहेका शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाइ हुने विद्यालय , शन्तहरु बस्ने भबन लगाएतका सबै संरचनामा क्षति पुगेकाे छ। ठुलो लगानीमा निर्माण भएको कैबल्य नाथ (शिव) मन्दिर भित्र क्षती नभएपनी मन्दिरको पर्खालमा भने क्षती पुर्याएको छ । ६० लाखको लगानीमा जडान भएको सोलार पूर्ण रुपमा बन्द भएको छ ।
अहिले गोदावरीमा क्षती हेर्न जाने को भिड लागेको छ । प्रदेश सांसद खिमादेबी बिष्ट, गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट ,उपप्रमुख शारदा देबी रोकाया ,पुर्बमन्त्री कृष्णराज सुवेदी लगाएतका जनप्रतिनिधीहरु पनि गोदावरी पुगेका छन ।
पदमराज जोशी
अध्यक्ष
गोदावरी धाम बिकास समिती
यो अकल्पनिय ठुलो क्षती भएको छ । राज्यको यती ठुलो लगानी भएको थियो सबै बर्बाद भयो । धार्मिक रुपमा गोदावरी स्थापित भैसकेको थियो । हामिले त्यत्रो कुम्भ मेला लगायौं, बर्ष भरी नै धार्मिक क्रियाकलापहरु गरिनै रहेका छौँ तर अब अहिले गोदावरी को स्वरुप नै बदलिएको छ , धेरै नै चिन्ता लागेको छ । अब सबै मिलेर फेरि गोदावरीलाई उठाउनु छ , त्य्सको लागि पक्की तटबन्ध नगरेर हुने देखिएन । यसमा अब सबै सरोकारवाला को ध्यान जानू जरुरी छ ।
चन्द्र सिं बडैला
स्थानिय समाजसेबी
यो त बिकराल हो गोदावरी नदिले आफ्नो रुप देखायो । २०३९ साल यता यस्तो देखिएको थिएन मैले अहिले ८० साल मा यस्तो देखे । क्षति कति भयो भन्ने यकिन छैन । सबै धार्मिक संरचनाहरु भित्र पानी पसेको छ । नदि दुई तिर भएर बगेको छ । राती त हेरिसक्नु थिएन , धन्न अहिलेसम्म मानबिय क्षती भएको छैन । जोखिम अझै कायम नै छ , के हुन्छ भन्न सकिन्न ।
कृष्णराज सुवेदी
पुर्बमन्त्री
यो भयानक बिपत्ति नै हो । यस्तो पहिले हामिले देखेका थिएनौ । पहाडमा बर्षा भएपछि गोदावरी यसरी नै उग्र हुने गर्दछ । अब राज्य को यत्रो लगानी खेर गयो । अब यहाँ लगानी गर्ने कुरो जोखिम नै देखियो । नदि संग त सकिन्न , कुनै न कुनै दिन त यसले आफ्नो धार त लिने रहेछ त्यसैले अब लगानी गर्दा सोचेर मात्रै गर्नुपर्ने देखियो ।
शारदा देबी रोकाया
उपप्रमुख
गोदावरी नगरपालिका
यस्तो त गोदावरी को रुप पहिले कहिले देखेको थिइन् । यत्रो बर्ष भयो हामी नि यहीँ बसेको तर आज त उपद्रो नै गरेछ । यो निकै अकल्पनीय बिपत हो । मानबिय क्षति नभएपनी करोडौं को लगानी पानी मा गयो ।अब त यहाँ लगानी गर्न पनि त जोखिम हुने देखियो । अब सबै बसेर यसको बारेमा बृहत छलफल गरेर मात्रै योजना बनाउनु पर्छ ।