बैतडी - सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जंगली जनावरहरुले आतंक मच्चाउन थालेका छन । पहाडी जिल्ला डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुलाका कृषकहरु जंगली जनावरबाट बालीनाली जोगाउन खेतमै बस्ने गरेका छन् । जंगली बाँदर बँदेल, र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् ।
जंगली बाँदर , बँदेल, र दुम्सीले बालीनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले शखाप गर्न थालेका हुन् ।
दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली र अन्य खाद्य बाली र फलफूल, तराकारी नष्ट गर्न थालेका पाटन नगरपालिका वडा नम्बर १ डैसिलीका सन्तोष बोहराले बताए । बाँदरबाट बालीनाली जोगाउन मुस्किल भएपछि पछिल्लो समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता आएको उनको भनाइ छ ।
बैतडीका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरूलाई धौ धौ परेको छ । दिउँसोमा बाँदर र रातीमा दुम्सी तथा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौ धौ परेको उनले बताए ।
मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ । ’पाक्नै तयारीमा रहेको मकैलाई जंगली जनावरहरूले नष्ट गर्न थालेपछि समस्या भएको छ । मकैको घोगा लागेको बेला देखिनै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । गएको केही बर्षयता जंगली बदेलले सताउन थालेको र पछिल्लो समयमा झन् आतंक बढेको बोहराको भनाइ छ । उनले भने, ''मकैबाली हुने हाम्रो जग्गा अहिले बदेलबाट जोगाउन नसक्दा घरबाट अलि टाढा रहेका खेतहरु बाझो छोडेका छौँ।
बाँदर र बँदेलले लगातार रुपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई चिन्तित बनाएको पाटन नगरपालिका वडा नम्बर २ का श्याम दत्त पन्तले बताए । रातिको समयमा पहरा दिएपनि मकैबाली जोगाउन मुस्किल भएको किसानको भनाइ छ ।
बाँदरले बारीमा लगाएको अन्नबाली सबै सखाप पार्न थालेपछि दशरथचन्द नगरपालिका- ८ कापडीगाउँका बासिन्दा हातमा गुलेली समातेर दिनभर पहरा दिन थालेका छन् । जमीनमा लगाएको मकैबाली जोगाउन गुलेली समातेर दिनभर ड्युटी गर्दा समेत जोगाउन नसकिएको हरिनादेवी चन्दले बताए । हुलका हुल बाँदरले खेतपाती सबै नष्ट गरिसकेको उनले बताए । उनले भने ‘हामी गाउँका हरेक घरबाट कम्तीमा एकजना गुलेलीसहित ड्युटीमा बस्ने गरेका छौं । तर बारी जोगाउन सकिएको छैन् ।
’साँझ बिहानको छाक टार्नको लागी लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानहरूको भनाई रहेको छ । विभिन्न रोग कीराबाट बचाएर पाक्न लागेको मकैबाली जंगली जनावरले नष्ट पारेको हो।जंगली जनावरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागी स्थानीय तहले पहल गरिदिनुपर्ने किसानहरूको माग रहेको छ ।
प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भएपनि क्षतीपूर्ती पाउन नसकेको किसानहरूले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरूले बर्षेनी बालीनालीमा क्षति बेहोर्दा समेत सरकारले केही राहत नदिएको किसानहरूले गुनासो गरेका छन् ।