डडेलधुरा - जिल्लामा उत्पादन भएको बिउ आलु प्रतिकिलो ५० रुपियाँ निर्धारण गरिएको छ । शनिबार आयोजना गरेको गोष्ठीबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ डडेलधुराले बिउ आलुको मूल्य निर्धारण गरेको हो ।
हिउँदे र बर्खे गरी दुई वटै सिजनको बिउ आलुको मूल्य प्रतिकिलो ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यवसायीलाई १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको हो ।
किसान, आलुका व्यवसायी, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, स्थानीय तहका कृषि शाखा संयोजकको उपस्थितिमा मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन एकाइ डडेलधुराका प्रमुख ध्रुव जोशीले जानकारी दिनुभयो ।
डडेलधुराको शीत भण्डारमा भण्डारण गरिएको बिउ आलुलाई बिक्री गर्ने र बिउ अपुग भए डडेलधुरामै उत्पादन गरी कैलालीका शीत भण्डारमा राखिएको बिउ आलुबाट आपूर्ति गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यस वर्ष आलु व्यवसायीले ३० रुपियाँ प्रतिकेजी किसानबाट खरिद गरेकाले बिउ आलुको मूल्य गत वर्षभन्दा कम निर्धारण गरिएको उहाँले बताउनुभयो ।
किसानबाट ३० रुपियाँ प्रतिकेजी आलु खरिद गरिसकेपछिको लागत शीत भण्डारको भाडा, यातायात खर्च, उतारचढाव खर्च, कुहिने घट्ने आलुको तौल, १४ प्रतिशत बैङ्कको ब्याज र १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।
डडेलधुरामा प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा बढी आलु उत्पादन हुने गरेको छ । जिल्ला सदरमुकाममा सात हजार क्विन्टल भण्डारण क्षमता भएको एउटा शीत भण्डार छ ।