काठमाडौँ - रोजगारिका लागि भारतमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका उनिहरु पहिरोमा परी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।
उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आउनुभएका हुम्लाका वीरबहादुर होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो । पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उहाँकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उहाँका छोरा मानबहादुर बुढा, अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिङ्की पनि बेपत्ता भएको बताइएको छ ।
पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
यसै गरी घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसमक्ष लिखित पत्राचारसमेत भइसकेको छ । भारतीय सञ्चार माध्यमले खोज तथा उद्धारमा उत्तराखण्ड प्रहरी परिचालन भएको र निरन्तरको वर्षाका कारण थप समस्या उत्पन्न भएको जनाएका छन् ।