बैतडी - जिल्लाको सिगास गाउँपालिका–१, बल्लेकानामा भेटिएको फलाम खानी उत्खननको काम रोकिएको छ ।
बल्लेकानामा भेटिएको फलाम खानी क्षेत्रमा बिजुली, सडक र पानी नहुँदा खानी उत्खननको काम रोकिएको हो । फलामखानी रहेको पारि डाँडासम्म चमेलियाको १५० मेगावाट बिजुलीका तार राखिएको छ । जयपृथ्वी मार्गको पक्की सडकबाट दक्षिणतिर चार किलोमिटर दुरीमा फलाम खानी रहेको छ ।
२०७७ साल चैतमा सिगास गाउँपालिका–१, सुगरखालको बल्लेकानामा फलाम खानी भेटिएको थियो । शुभम् मिनरल्स प्राइभेट लिमिटेडले खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर फलाम खानी पत्ता लगाएको हो । खानी उत्खनन गरेर प्लान्ट स्थापना गर्नुअघि आवश्यक भौतिक पूर्वाधार बाटो, बिजुली र खानेपानी नहुँदा प्लान्ट स्थापना हुन नसकेको कम्पनीका अध्यक्ष गिरिराज अधिकारीले बताए ।
परीक्षणका लागि उत्खनन गरिएको चट्टानमा औसतमा ३८ प्रतिशत ‘म्याग्नेटाइट आइरन ओर’ भेटिँदा उत्साह बढेको कम्पनीका अध्यक्ष अधिकारीले बताए । म्याग्नेटाइट चट्टानमा पाइने ‘म्याग्नेटाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने बताइएको छ । खानी अध्ययनको ८० प्रतिशत काम सकिएको छ ।
फलाम खानी पत्ता लाग्दा स्थानीयवासी खुसी भए पनि उद्योग स्थापनामा ढिलाइ हुँदा निराश बनाएको स्थानीय जयराम विश्वकर्माले बताए । फलाम खानी सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले आवश्यक सहयोग र सहजीकरण गरिदिन कम्पनीले प्रदेश वन मन्त्रालय र सङ्घीय वन मन्त्रालयलाई अनुरोध पत्र पठाएको छ तर लिखित अनुमति र जवाफ आइनसकेको कम्पनीले बताएको छ ।
फलाम खानी सञ्चालनमा आएमा स्थानीय र प्रदेशस्तरमा रोजगारी सिर्जना हुने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरले बताए । फलामखानीबाट करिब ११ किलोमिटर दुरीमा पर्ने पाटन नगरपालिका–८, खोड्पेसम्म चमेलिया जलविद्युत्को १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
बिजुली र बाटोका कारण फलाम खानी उत्खनन गर्न नसकेपछि शुभम् मिनरल्स प्राइभेट लिमिटेड सिसा खोज्न दार्चुलाको मार्मा पुगेको छ ।