अत्तरिया - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा डेंगुको जोखिम बढ्दै गएको छ ।
तराईका जिल्लामा बढी हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि फैलिँदै गएको छ । तराईबाट लामखुट्टे पहाडी जिल्लाहरुमा उक्लिएपछी पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशभरी १ हजार ६१४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा पहाडी जिल्लाहरुमा पनि यसको संक्रमण बढ्दै गएको छ ।
बर्षातको समयमा लामखुट्टे बढी हुने र लामखुट्टेले टोकेमा डेंगु संक्रमण हुने गरेको स्वास्थ्यकर्मीहरु बताउदछन् । एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्दछ ।
यो बर्ष सबैभन्दा बढी दार्चुलामा १ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । पछिल्लो तथ्यांक हेर्दा पहाडी जिल्लामा डेंगुको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीको भनाइ छ ।
डेंगु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।
प्रदेशभरी दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जम्मा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।