कैलाली- गत भदौमा कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका चक्रपाणि पाण्डेय ६ महिना पनि टिकेनन् । स्थानीय तहअन्तर्गतका कर्मचारी बढुवासम्बन्धी नगर कार्यपालिकाको निर्णयमा जनप्रतिनिधिसँग मतभेद भएपछि उनी सरुवा मिलाएर अन्यत्रै गए ।
नगर कार्यपालिकाले स्थानीय तहअन्तर्गतका कर्मचारीको एक तह बढुवा गर्ने निर्णय ग¥यो । तर, कर्मचारी बढुवा गर्ने अधिकार कार्यपालिलाई नभएको भन्दै पाण्डेयले निर्णय कार्यान्वयन गर्न नसकिने अडान लिए । निर्णय कार्यान्यवन गराउन उपमहानगरका जनप्रतिनिधि र स्थानीय तहअन्तर्गतका कर्मचारीको दबाब आयो ।
त्यो थेग्न नसकेपछि केही दिनको काज मिलाएर स्थानीय विकास मन्त्रालय गएका पाण्डेय अहिले उतैबाट अन्यत्र सरुवा मिलाएर गएका छन् ।
डेढ वर्षमा पाँच अधिकृत
उपमहानगरमा जिम्मेवारी सम्हालेको छोटो समयमै सरुवा मिलाएर जाने पाण्डेय एक्ला अधिकृत होइनन् । जनप्रतिनिधि निर्वा्चित भएर आएको डेढ वर्षको अवधिमा धनगढी उपमहानगरपालिकामा पाँच प्रमुख प्रशासकीय अधिकृत फेरिइसकेका छन् ।
उपमहानगरपालिकामा कुनै पनि प्रशासकीय अधिकृतले ६ महिना पूरा काम गरेका छैनन् । पाँचमध्ये भरतमणि पाण्डेय र सन्तबहादुर सुनार जिम्मेवारी सम्हालेको तीन महिना पूरा नहुँदै सरुवा भएर गएका थिए ।
धनगढी उपमहानगरमा मात्र होइन, कैलालीका अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्दैनन् । जनप्रतिनिधि आएपछि प्रशासकीय अधिकृत फेरबदल हुने क्रम बढेको छ । स्थानीय तहको निर्वाचनयता घोडाघोडी नगरपालिकामा मात्र पाँचजना प्रशासकीय अधिकृत फेरबदल भएका छन् । टीकापुर, भजनी र लम्कीचुहा नगरपालिकामा चार–चारजना प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । स्थानीय तहमा पनि प्रशासकीय अधिकृत लामो समय टिकेर काम गरेको उदाहरण कमै भेटिन्छ । नयाँ पत्रिकावाट साभार