बैतडी - जिल्लामा रहेको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा यो बर्ष ८३ हजार बिरुवा राखिएका छन् ।
सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काका अनुसार आउँदो माघ –फागुनमा विक्रि गरिने हिउँदे फलफूलका ८३ हजार ९१६ बिरुवा नर्सरीमा राखिएका हुन् ।
हिउँदे फलफूलका बिरुवाको श्रोत केन्द्रको रुपमा रहेको सुख्खा फलफूल विकास केन्द्रले बिरुवा उत्पादन गरेर विक्रि गर्दै आएको छ । केन्द्रले कलमी गरेर नर्सरीमा ८३ हजार बढी विरुवा राखेको प्राविधिक सहायक खड्काले बताए । सुख्खा फलफूल विकास केन्द्रको ३ हेक्टर जमीनमा आफ्नै नर्सरी रहेको र उत्पादित बिरुवा देशका धेरै जिल्लामा विक्रि हुने गरेको उनले बताए ।
सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा अहिले ४ हजार ४१६ स्याउका बिरुवा छन् भने हाइडेन्सीटी स्याउका बिरुवा ४९२ रहेका छन् । यस्तै नासपाती ६ हजार ६२१, आरु ६ हजार ७२०, आरुबखडा ६ हजार ९५६, कागजी बदाम ९ हजार ४१७, खुर्पानी ११ हजार ४५२, बिजु दाँते ओखर २८ हजार, कलमी दाँते ओखर ५ हजार ५२२ रहेका छन् ।
गत आर्थिक बर्षमा सुख्खा फलफूल विकास केन्द्रले ६० हजार बिरुवा उत्पादन गरेकोमा ४१ हजार बिरुवा विक्रि भएका थिए भने १९ हजार बिरुवा नर्सरीमै स्टक रहेका प्राविधिक सहायक खड्काले बताए ।
गत आर्थिक बर्षमा स्याउ ३ हजार ४९०,हाइडेन्सीटी स्याउ २००, नासपाती ५ हजार ६५०, आरु ५ हजार ४४४, आरुबखडा ४ हजार ४९२, कागजी बदाम २ हजार ९६, खुर्पानी २ हजार ३८९, बिजु ओखर ३२ हजार ५४ र कलमी ओखर २ हजार २९२ बिरुवा उत्पादन गरिएको थियो ।