बैतडी - जिल्लामा रहेको पाटन विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ ।
२० मिटर चौडाइ र ५८० मिटर लम्बाई रहेको विमानस्थल ११ करोड रुपियाँ खर्च गरेर तीन वर्ष अघि कालोपत्रे गरिएको थियो । त्यसैगरि ५ करोड खर्च गरेर टर्मिनल भवन लगायतका संरचना बनाइयको थियो । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचनाहरु प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
हवाई उडान बन्द हुँदा बैतडीबाट धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् । समिट एयरले १७ मिनेट हवाई दूरीमा धनगढी–बैतडी–धनगढीको चार हजार रुपियाँ भाडा लिएर उडान भर्दै आएको थियो ।
विमानस्थल कालोपत्रे हुँदा खुशी भएका बैतडीवासीहरु उडान बन्द हुँदा निराश भएका छन् । राज्यको करोडौँ रकम खेर गएको र सरकारले हवाई सेवा पुन: सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनु पर्ने स्थानीय वसन्त विष्टले बताए ।
नागरिक उड्डयन प्राधिकरणले स्थापना गरेको कार्यालय समेत बन्द रहेको छ । प्राधिकरणले खटाएका कर्मचारी कृष्णदत्त भट्ट समेत सरुवा भएर अन्यत्र गएपछि पूर्ण रूपमा ठप्प भएको हो ।
निजी क्षेत्रका हवाई कम्पनीले महँगो भाडा लिएर सातामा एक पटक मात्र उडान भर्दा यात्रु अभाव भएकाले उडान बन्द भएको पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले बताए । नियमित सेवा दिन भाडा दर कम गरेर सातामा तीन पटक उडान गर्नु पर्ने र नेपाल विमान एयरलाइन्सले तत्काल सेवा विस्तार गर्नु पर्ने उपप्रमुख सिंहको भनाइ छ ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला २०५२ देखि बन्द रहेको थियो । हवाई उडान बन्द हुँदा दुर्घटनामा परेका व्यक्तिको आकष्मिक उद्धार गर्न कठिनाइ हुने गरेको छ ।
डेढ वर्षअघी २०७७ चैत १० गते अन्तिम पटक उडान भएको थियो ।