काठमाडौँ - सुदूरपश्चिम प्रदेश लगायत देशभरीका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्या सम्बोधनका लागि यसअघि अधुरा रहेका तथा विभिन्न कारणले बन्द भएका खानेपानी आयोजना पुनः सञ्चालन गरिने भएको छ ।
आइतबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा बसेको सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा अन्तरसम्बन्धसम्बन्धी खानेपानी तथा सरसफाइ विषयगत समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी र मधेश प्रदेशका ऊर्जा, सिञ्चाइ तथा खानेपानीमन्त्री सिंहासन साह कलवार सहभागी हुनुहुन्थ्यो ।
बैठकले सबै तहबाट भूमिगत पानी उपयोगको नियमन, स्रोत संरक्षण र पुनर्भरणलाई प्राथमिकतामा राखी कार्यक्रममा जोड दिने, आयोजना कार्यान्वयनमा दोहोरोपना हुन नदिन, प्रभावकारी अनुगमन गर्न तथा नियमित रिपोर्टिङ गर्नका लागि सङ्घीय खानेपानी मन्त्रालय तथा सातै प्रदेशका विषयगत मन्त्रालयका योजना शाखा प्रमुखबिचको संयन्त्र निर्माण गरी त्रैमासिक रूपमा रिपोर्टिङ गर्ने निर्णय गरेको छ ।
बैठकमा खानेपानीमन्त्री महिन्द्रराय यादवले मुलुकको केही क्षेत्रमा देखिएका खानेपानी समस्या समाधानका लागि सरकार सचेत रहेको बताउँदै बहुवर्षीय योजना बनाएर ठूला खोलाहरूबाट पानी वितरण प्रणालीमा ल्याउन मन्त्रालयले अनुसन्धान गरिरहेको जानकारी दिनुभएको थियो ।