अत्तरिया - आज साउन १५ अर्थात् खीर खाने दिन । प्राचिनकालदेखी नै वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा रही आएको छ ।
दूधमा विभिन्न किसिमका मरमसलालगायत चीजबीज हालेर खीर बनाउने गरिन्छ । साउने झरी परिरहेका बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिन्छ । यस्तै दूधमा विभिन्न किसिमका मरमसलालगायत चीजबीज हालेर बनाएको खीरले स्वास्थ्यमा राम्रो गर्ने भन्ने परम्परा बसेको समेत विश्वास गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ ।
गाउँघरमा पनि यही साउन महिनामा खेतीपातीको काम सकिन्छ । डाँडाकाँडा, वनजँगल हरियाली हुने भएकाले घाँसपात पनि बढी पाइने गर्दछ । धेरै राम्राराम्रा घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिने गर्दछन् । धेरै दूध भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन महिनालाई भगवान् शिवको महिना पनि भनिन्छ । दूध र दूधमा बनेका परिकारहरु भगवान् शिवलाई मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइने गरिन्छ । जसले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने रहेको छैन ।
चामल, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन रही आएको छ भने खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।