बाजुरा - जिल्लामा बाढी र पहिरोले गर्दा १३ वटा परिवार विस्थापित भएका छन् ।
शुक्रबार आएको बाढी र पहिरोका कारण जिल्लाका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी हिमाली गाउँपालिका–३ युनामा दीपलाल बुढाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शुक्रबार बिहान साढे ८ बजेतिर आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतले जानकारी दिए ।
पहिरोले घरसहित अन्नपात, लुगा कपडा बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनिहरुको सुरक्षित बासस्थानका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले बताए । पहिरोका कारण सोही वडाका १० वटा घर र युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि जोखिममा परेको प्रहरीको भनाइ छ ।
त्यसैगरि गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमूल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।
सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी पहिरो खसेको र पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ ।
दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति भने नभएको तर पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ।
वर्षा जारी रहेकाले अहिले पनि पहिरो नियमित बगिरहेको बताइयको छ ।