अत्तरिया - पछिल्लो समय कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल,प्रादेशीक अस्पताल,स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको बताइएको छ ।
गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले अस्पतालमा पछिल्लो एकसाता देखि आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । दैनिक ५-६ सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको उनले जानकारी दिए ।
कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने बरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।
यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ र यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।
भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको उनले बताए ।
कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आंखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने भट्टले बताए ।
आँखा सम्बन्धि कुनै समस्या देखिएमा आँखा अस्पतालमा गई बिशेषज्ञको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने उनकोे भनाई छ ।
आँखा पाक्ने रोग सामान्य भएतापनि यसको समयमै उपचार नगरेमा आँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।