अछाम - जिल्लावासीका लागि बहुप्रतीक्षित बुढीगङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य ठेक्का प्रक्रियामा रोकियको छ । २० मेगावाटको उक्त आयोजनाको समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा निर्माणले गति लिन सकेको छैन ।
आयोजना निर्माणको मुख्य कामहरुको समयमै ठेक्कासम्बन्धी टुङ्गो नलाग्दा निर्माण कार्य पछि धकेलिँदै गएको छ । आयोजना निर्माणको लागि तीन पटकसम्म ठेक्का प्रक्रिया रद्द हुँदा निर्माणको कार्य अघि बढ्न नसकेको हो । पावर हाउस, टनेल र ड्याम निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि तीनै पटक ठेक्का रद्द भएको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर स्वतन्त्रकुमार कर्णका अनुसार ०७८ साल भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एउटा कम्पनीको मात्र बोलपत्र परेकाले उक्त ठेक्का प्रक्रिया रद्द गरिएको थियो । त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रक्रियामा आएका कम्पनीले ठेक्का रकमभन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रिया पनि रोकिएको इन्जिनियर कर्णले बताए ।
आयोजनाले पुनः ०७९ साल असोजमा अन्तर्राष्ट्रियस्तरकै बोलपत्र आह्वान गरे पनि कम्पनीहरूले त्यसमा तोकिएको रकमभन्दा बढी ठेक्का हालेकाले प्रक्रिया अघि नबढेको इन्जिनियर कर्णको भनाइ रहेको छ । इन्जिनियर कर्णले भन्नुभयो “तीन पटक बोलपत्र गर्दा पनि खरिद ऐन अनुसार प्रभावग्राही नभएकाले रद्द भएका हुन्,” । अब चौथो पटक बोलपत्र खोलिएकाले त्यसको प्रक्रिया पूरा भएपछि मात्र आयोजना स्थलका मुख्य निर्माणका काम हुने बताइएको छ ।
ठेक्का प्रक्रिया पटक पटक रद्द हुँदा आयोजना निर्माणमा ढिलाइ भइरहेको साँफेबगरका अगुवा युवा कृष्ण बुढाको भनाइ रहेको छ । करिब १८ महिनामा सम्पन्न हुने डिपिआरले ठेक्का प्रक्रियामै तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशङ्का रहेको छ । निकै महत्वपूर्ण रूपमा हेरिएको आयोजनाको काम तीव्र गतिमा हुनुपर्ने माग स्थानियहरुको माग रहेको छ ।
आयोजना स्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् भने सो आयोजनाका लागि अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण समेत भइसकेको बताइएको छ । छ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी सो आयोजना सुुरु गरिएको हो ।
उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सब स्टेसनमा जोडिने छ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ ।