अत्तरिया - सुदुरपश्चिममा लागुऔषध दुर्ब्यसनी र कारोबार भुसको आगो जसरी तिव्र रुपमा फैलिरहेको प्रहरीको दाबी रहेको छ । ईलाका प्रहरी कार्यलय मालाखेती अत्तरियाले पछिल्ला दिनहरुमा लागु औषध दुर्व्यसन तथा कारोवारमा संलग्नलाई गरेको कारबाहीको तथ्य हेर्दा यसको फैलावट भयाबह नै देखिएको छ ।
कैलाली, कञ्चनपुर जिल्लाको सिमा नाका हुँदै अतरिया बजारलाई सेल्टर र ट्रान्जिट बनाई सुदुरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा लागुऔषध दुर्व्यसन र कारोवार व्यापक रुपमा मौलाउँदै गएको ईलाका प्रहरी कार्यलयले अत्तरियाको बुझाई रहेको छ ।
अभिभावकहरुले आफ्ना छोराछोरीलाई समय दिन नसक्नु , रेखदेखमा ध्यान दिन नसक्नु र विशेष गरि नेपाल भारतको खुल्ला सिमानाको कारणले भातरिय बजारमा जो कोही पनि गई लागुऔषध खरिद गरि ल्याउन सक्ने कारणले पनि युवायुवति माझ लागुऔषध दुर्व्यसन र कारोवार भुसको आगो जसरी तिव्र गतिमा फैलिएको छ ।
किशोर किशोरीमा उमेरमा आएको परिवर्तनसंगै लागुऔषध सेवन प्रति उत्सुकता, साथीभाई संगत तथा आग्रहलाई अस्वीकार गर्न नसक्ने, मोबाईल तथा सवारी साधनको दुरुपयोग,अभिभावकहरुले जथाभावी रुपमा आफ्ना छोराछोरीलाई दिने पैसाले (पकेट मनि) जस्ता बिबिध कारणले युबा युबतीहरु कुलतमा फस्दै गएको प्रहरीको दाबी छ ।
गोदावारी नगरपालिका अन्तर्गत अत्तरिया बजार क्षेत्र सुदुरपश्चिम प्रदेशको केन्दविन्दु भएको कारणले पनि यँहा अत्यधिक मात्रामा लागुऔषध सेवन तथा कारोवारीको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको प्रहरी कार्यलय मलाखेतीले जनाईएको छ ।
आ.व.२०७९-८० मा ७८ जना पुरुष र ६ जना महिला गरी जम्मा ८४ जनालाई लागुऔषध सेवन तथा कारोवार अन्तर्गत मुद्दा दर्ता गरी कारबाही भईरहेको प्रहरीको तथ्याङमा उल्लेख गरिएको छ । जसमा १५ देखी २५ वर्ष उमेर समुहका युवाहरु बढीमात्रामा लागुऔषध दुर्व्यसनमा फसेको देखिएको छ ।
त्यसैगरी केही महिलाहरु दुर्व्यसनमा र अधिकाशं महिलाहरु कारोबार (विक्रिवितरण)मा संलग्न रहेको देखिन्छ। करिब ९० प्रतिशत जति युवाहरु आफु स्वयं भारतिय सिमा नाका पलिया,खजुरिया लगायतका बजारमा गई खरिद गरि ल्याउने अनी सेवन तथा कारोवार गरेको संलग्नहरुको बयानबाट खुलेको प्रहरीको बुझाई रहेको छ ।
ठुलो परिमाणमा लागुऔषध खरिद गरि ल्याई त्यसलाई स-साना पुरिया बनाई बिक्री गरेर छिटो पैसा कमाउने उद्देश्य राखी उक्त कार्य संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।
उनका अनुसार प्रहरी कार्यालयमा आउने दुर्व्यसनकर्ताका अभिभावकहरुले आफ्ना छोराछोरीले लागुऔषध सेवन गरेको थाहा नभएको बताउने गरेका छन् र आफ्ना छोराछोरी कसरी कुलतमा फसे भनेर आश्चर्य प्रकट गर्ने गर्दछन् ।
यसै गरी १४-१५ वर्षको सानै उमेर देखी नै धुम्रपान,मादकपदार्थ सेवन गरी हिड्ने, झै-झगडा गर्ने युवाहरुको संख्यामा पनि वृद्धि हुदै गईरहेको बरालको भनाई रहेको छ ।
डिएसपी बरालले प्रहरी एक्लैले अब यो समस्या समाधान गर्न नसक्ने बताए ।
'हामीले गर्नु पर्ने सबै उपाए अपनाएका छौं तर प्रहरीको प्रयासले मात्रै यो नियन्त्रण हुने अबस्था छैन । यसमा समाजका सबै तह तप्काले पनि ध्यान दिनुपर्ने भयो । अभिभाबकहरुले त बिशेषत आफ्ना छोराछोरीलाई निगरानीमा राख्नु पर्यो । स्कुल गएको छ पढदै छ भनेर ढुक्क हुने अबस्था नै छैन,' डिएसपी बराल ले भने ।