बैतडी- जिल्लामा साढे २२ लाखका बाख्रा वितरण भएका छन् । प्रदेश सरकारको सहयोगमा भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी मार्फत गत अर्थिक वर्षमा एकल महिलाहरुलाई साढे २२ लाखका बाख्रा वितरण भएका हुन् ।
जिल्लाका नौ पालिकाका एक ÷ एक वडामा प्रदेशको भूमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटबाट बाख्रा वितरण गरिएका हुन् । डिलाशैनीमा जनप्रतिनिधिहरुले प्रदेशबाट पाएको २५ लाख बजेट कार्यान्वयन गर्न नसक्दा उक्त रकम फ्रिज गएको बताइएको छ ।
भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी दत्त पन्तका अनुसार एक वडाका लागि २ लाख ५० हजार बजेट बिनोयजन गरिएपनि डिलाशैनीमा कार्यान्वयन नहुँदा बजेट फ्रिज गएको हो ।
जिल्लाको पुर्चौडी नगरपालिका ७ मा १५ जना, दशरथचन्द नगरपालिका वडा नं ३ मा १५ जना, मेलौली नगरपालिका वडा नं २ मा १६, पाटन नगरपालिका वडा नं ३ मा १५ जना एकल महिलाहरुलाई बाख्रा वितरण गरिएका छन् । त्यसैगरि सिगास गाउँपालिका वडा नं २ मा १५,सुर्नया २ मा १५, दोगडाकेदार ५ मा २६, पञ्चेश्वर वडा नं ४ मा १९ र शिवनाथ गाउँपालिका वडा नं ४ मा १६ जना एकल महिलाहरुलाई एक÷एक बाख्रा वितरण गरिएका हुन् । जिल्लाका ८४ मध्ये नौ वडाका १ सय ५२ जना एकल महिलाहरुलाई २२ लाख ५० हजारका बाख्रा वितरण गरिएका हुन् ।
जिल्लामा तीन वर्ष देखि एकल महिलाहरुलाई बाख्रा वितरण हुँदै आएको छ । एकल महिलाहरुको आय आर्जनमा सहज होस भनेर तीन वर्षदेखि बाख्रा वितरण कार्यक्रमका लागि प्रदेश सरकारबाट प्रत्येक वर्ष बाट बजेट प्राप्त हुने गरेको भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पन्तले बताए ।
एकल महिलालाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण हुँदै आएका भएपनि बाख्रा खरिदमा बदमासि हुने गरेको युवाहरुको आरोप रहेको छ । एकल महिलाहरुलाई बाख्रा वितरण गर्ने कार्यक्रम ठिक भएपनि कार्यान्वयन गर्ने पक्षहहरुको बदमासिले प्रभावकारी हुन सकेका छैनन् । कर्मचारी जनप्रतिनिधिहरुको मिलेमतोमा सस्तोमा बाख्रा खरिद गरेर बजेट कुमल्याउने परिपाटि मौलाएको स्थानीय युवाहरुको भनाइ रहेको छ ।