अत्तरिया -हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसंगै अत्तरीया बजारमा चहलपहल बढेको छ । दसैं सकिएपछि यतिबेला तिहारमा चाहिने सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्न थालेको हो ।
लक्ष्मीपूजाका लागि चाहिने पूजासामग्री, ओखर, फुल , माटोका पाला, बत्ती, भाइमसला, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र सुनचाँदीका गहना किनमेल गर्नेको चहलपहल बढ्न सुरु भएको हो ।
यस्तै बजारमा रंगीविरंगी बिधुतिय बत्तीहरु एवं पूजा सामग्री किनमेलका लागि घुईंचो लागेको छ । यहाँका हार्डबेयर पसल, रंग पसल, कपडा पसल, झिलिमिलि पार्न विजुली पसल, मिठाई पसल, खाद्यान्न पसलहरुमा घुँइचो बढेको छ ।
बजारमा तिहारका लागि स-साना आकर्षक प्याकेटमा भाइटिका–मसला सजाएर राखिएका छन् ।
गाउँ घरका किसानहरुले धानखेती भित्र्याईसकेपछि केहि फुर्सदिला हुने भएकाले गाउँशहरमा चहलपहल बढेको हो । काग तिहारकै अघिल्लो दिनदेखि घर, बजार एवं बस्ती झकिझकाउ पारेका छन् भने बजारमा तिहारको निकै रौनक छाएको हो ।