काठमाडौं - संगीत रोयल्टीका विषयमा केही कलाकार सर्जकले गलत नियतका साथ भ्रम फैलाएको भन्दै नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकाष्टर्स फोरम (RBF) नेपाल, ब्रोडकाष्टिङ्ग एशोसिएसन अफ नेपाल (BAN) र सामुदायिक रेडियो प्रसारक संघ (ACORAB) नेपालले आपत्ति जनाएका छन् ।
रेडियोका तीनै संगठनहरुले एक विज्ञप्ति जारी गर्दै संगीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउनका लागि गरिएका सकारात्मक प्रयासलाई कुनियतबस गलत प्रचार गरि केही दिनयता केही सर्जकबाट सामाजिक सञ्जालमा आम श्रष्टाहरु माझ भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘संगीतकार सुरेश अधिकारीले एफएम रेडियोका सञ्चालकहरु, रेडियो आवद्ध छाता संगठन र नेतृत्वलाई तल्लोस्तरको गालीगलौज तथा एफएम रेडियोलाई लक्षित गर्ने प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिएकोले उहाँका सिर्जनाहरु प्रसारण नगर्ने निर्णयमा पुग्न बाध्य भएको तर समग्र सर्जक र स्वतन्त्र रेडियोहरुबीचको नङ र मासुजस्तै सम्बन्धमा दरार आउन दिनुहुन्न भन्ने कुराप्रति हामी प्रतिवद्ध छौँ ।’
‘साथै, संगीत रोयल्टीका नाममा एफएम रेडियोको नविकरण प्रक्रियामा अवरोध पु¥याउनु संविधान र कानूनको बर्खिलाप समेत भएकोले यो अवरोध तत्काल हटाउन नेपाल सरकार समक्ष माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।’
रेडियोका संगठनहरुले सरकारीस्तरबाटै संगीत रोयल्टी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । संगीत रोयल्टी संकलन समाज नामक संस्थालाई यहीँ अवस्थामा रोयल्टी बुझाउन नसकिने उनीहरुको जिकिर छ ।