कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नीतिगत रुपमै भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले चरणवद्ध आन्दोलनको चेतावनी दिएको छ । उसले पटक-पटक नगरपालिकाको नेतृत्वलाई ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको भन्दै आन्दोलन गर्ने बताएको हो ।
नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले आइतबार यस विषयमा नगरप्रमुख हेमराज ओझालाई समेत भेटेको छ । ओझासँग संवाद गरेपछि आयोजित पत्रकार सम्मेलनमा नगर कमिटी अध्यक्ष गणेशसिंह ऐरीले पटक-पटक नगर नेतृत्वलाई सचेत गराउदा पनि भ्रष्टाचार नियन्त्रणमा नआएको र झन-झन नयाँ तौर तरिकाहरु अपनाउदै नीतिगत ढंगले नै अनियमितता बढेको बताए ।
‘अहिले भर्खरै पनि ‘मेयरसाप’ सँग वार्ता भयो, हामीले उठाएका विषयवस्तु हरुलाई उहाँले हल्का ढंगले लिएको देखियो,’ अध्यक्ष ऐरले भने, ‘पटक-पटक आग्रह र सुझाव दिदासमेत उहाँले टेर्नु भएन, त्यसैले ती सबै विषयवस्तु लगेर जनतामाझ जाने निणर्य गरेका छौँ ।’
एमाले नगर कमिटीले कृष्णपुर नगरपालिकामा भएको बेथितिलाई ४० बुँदामा सार्बजनिक गरेको छ । आव ०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमहरु नेतामुखी भएको, उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिहरुले आफू अनुकुलका ब्यक्तिहरुलाई राखेर कमिसन लिएको, उपभोक्ता हरुलाई त्यसबारे जानकारी नै नभएको पाइएको एमालेले जनाएको छ ।
योजनाहरु डुब्लिकेसन गरिएको, अनुदानका कार्यक्रममा अनियमितता गरिएको, ठुला योजनाहरुलाई टुक्रा पारेर अनुकुलका ब्यक्तिहरुलाई कोटेसनमा दिइएको, भूगोल भन्दा बाहिरका ब्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर मनोमानी तवरले काम गरिएको एमाले नगर कमिटीको आरोप छ ।
एमाले नगर कमिटी इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य लोकराज पन्तले ब्यक्तिगत स्वार्थका लागि यी विषय नउठाएको र लिखित र मौखिक रुपमा पटक-पटक आग्रह गर्दा पनि नगर नेतृत्व कानमा तेल हालेर सुतेकाले जनतामा जाने निणर्य गरेको बताए ।
‘जनतानै न्यायाधीश हुन्, सबै मुद्दाहरु जनस्तरमा लग्छौँ र गलत हर्कतविरुद्ध भण्डाफोर अभियान चलाउछौँ,’ यसअघि नगर प्रमुखका उम्मेदवारसमेत रहेका पन्तले भने ।
एमाले नगर कमिटीले सूचनाको हक प्रयोग गरी नगरपालिकालाई निबेदन दिएको थियो । त्यसबाट प्राप्त सूचना र जानकारी, स्थलगत अनुगमन तथा बिभिन्न तथ्य, तथ्यांकहरु केलाउदा अनियमितताका श्रृंखलाहरु भेटिएको नगर कमिटीले जनाएको छ ।