अत्तरिया - रोपाइँको काम सकेर सुदूरपश्चिमका युवा पुनः भारतमा मजदुरी गर्न जान थालेका छन् । खेतीपातीको काम सकिएपछि सिजन अनुसारको मजदुरी गर्नका लागि जाने सुदूर पश्चिमेलीहरुको सिमानाकामा लर्को लाग्ने गरेको छ ।
खेतीपातीको काम सकेर फुर्सदिला बनेका उनीहरु भारतमा छोटो अवधिको काम गरेर परिवारको खर्च जुटाउन त्यहाँ जान लागेका हुन् ।
कैलालीको गौरीगङ्गा नगरपालिका १० नुक्लिपुरका ठगवीर चौधरीले घरको कामधन्दा सकिएकाले केही कमाउने आसमा भारत पुगेको बताए । उनले अब दशै तिहारमा मात्रै घर फर्किने बताउँदै रोपिएको धान त्यती बेलासम्म पाकेर काट्ने समय हुने बताए ।
अहिलेलाई खाली समयमा भारतको हिमाञ्चल प्रदेशको सिमलातर्फ जान लागेको उनले जानकारी दिए। यस्तै स्थानीय तथा नुक्लिपुर होम स्टेका अध्यक्ष दिनेश दहितले लगत्तै ४० जना युवाको समूह साउन ५ गते सिमलाको लागि हिँड्ने तयारीमा रहेको बताए । उनीसँगै अन्य ४ जना युवा सिमला पुगेर सिमलामा स्याउ टिप्ने काम गरिसकेको बताए ।
उनले कोही भने पहिलो पटक गइरहेको बताए । कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू भारततर्फ गइरहेको बताइएको छ । यहाँ उपयुक्त रोजगारी नपाइने भएकाले तन्नेरीदेखि ६० वर्ष लागिसकेका व्यक्ति पनि मजदुरीका लागि उतै गइरहेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का जीवन मगरले गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी हरेक वर्ष जानु नपर्ने बताए । उनले कुनै किसिमको रोजगारी नभएको र कृषि पेसाले मात्रै गुजारा नचल्ने भएकाले काम गर्न भारत जानुपर्ने बाध्यता बनेको बताए ।
रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि नेपालीहरू जाने गरेका छन्। खास गरेर उनीहरू स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि भारत जाने गरेका छन् । साउनमा गएकाहरू तीन÷चार महिना काम गरेर दसैँ वा तिहारमा फर्किने गरेका छन् ।