धनगढी - आज साउन २ गते अर्थात् कमैया मुक्ति दिवस। कमैया मुक्ति घोषणा भएको २३ वर्ष पूरा भएको छ ।
कमैया प्रथा २०५७ साल साउन २ गते अवैध भएको ठहर गर्दै सरकारले पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जमिनदारको घरमा काम गर्दै आएका ३२ हजार ५०० कमैयालाई मुक्त घोषणा गरेको थियो ।
मुक्त घोषणा भएको यतिलामो समय बितिसक्दा पनि कतिपय मुक्त कमैयाको पुन: स्थापना नहुँदा बिचल्ली भएको छ।
मुक्त घोषणापछि सरकारले अधिकांश कमैयाको पुनः स्थापना गरे पनि कतिपय परिवारको अझै पुनःस्थापना हुन सकेको छैन। पुनःस्थापित हुन नसकेका मुक्त कमैया परिवार सार्वजनिक जमिनमा कष्टकर जीवन बिताइ रहेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्। २३ औँ कमैया मुक्ति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए।
यसैबिच महिला विकास मञ्चले सोमबार एक प्रेस विज्ञप्ति समेत जारी गरेर कैलालीमा ९ हजार ७६२ मुक्त कमैया परिवारको रहेकोमा ९५३ जनाको अझै उचित पुन स्थापना नभएको बताएको छ । सो संस्थाका अध्यक्ष सीमा चौधरीद्धारा जारी गरिएको विज्ञप्तिमा शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरण सम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा आर्थिक, राजनीतिक तथा सामाजिक रुपमा पछि परेको उल्लेख गरिएको छ । ती अधिकार प्राप्तिका लागि र राज्य तथा गैरसरकारी क्षेत्रको सहयोग आवश्यक रहेकोले त्यसमा समर्थन र ऐक्यबद्धता जनाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
दुई पालिकामा बिदा
कमैया मुक्ति दिवसको अवसरमा कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन्। पालिकादेखि स्वास्थ्य संस्था तथा विद्यालयसम्म बिदा दिएको दुवै पालिकाले जारी गरेको सूचनामा जनाइएको छ।