अत्तरिया - आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्ती कैलालीको अत्तरियामा पनि मनाएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा शुक्रबार प्रभात फेरी र साहित्यक कार्यक्रम गरिएको हो ।
सो प्रभात फेरी (बजार परिक्रमा)मा आदिकवि भानुभक्त आचार्यको फोटो लाई टेम्पोमा सजाएर प्रसिद्ध गायक सरु गुरागाइँद्वारा बाचन गरिएको आदिकवि भानुभक्त आचार्य रचित रामायणलाई माइकबाट बजाउँदै अत्तरिया बजार परिक्रमा गरिएको थियो ।प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशको मौलिक पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।
प्रभात फेरी कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष एवम् सञ्चालक समिति सदस्यहरु, पुस्तकालयका दानदाता/आजीवन सदस्यहरु, अत्तरिया क्षेत्रका जनप्रतिनिधिहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, कर्मचारी, बुद्धिजिवी, कलाकार, महिला आदिको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रभात फेरी समाप्ति लगत्तै प्रतिभा सामुदायिक पुस्तकालयको सभाकक्षमा साहित्यिक रचना बाचन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय प्रकाशबहादुर बम रहेका थिए भने विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय तुलसी देवकोटा रहनु भएको थियो ।
यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष गोपालदत्त भट्ट, वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल, अत्तरिया उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कल्याण सिंह बोहारा, ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक वासुदेव भट्ट लगाएतको सहभागिता रहेको थियो । साहित्यक कार्यक्रममा विभिन्न गायक एवम् साहित्यक प्रतिभाहरुले आ–आफ्ना आकर्षक प्रस्तुतिहरु गायन/वाचन गरेका थिए ।