काठमाण्डौ - आगामी मंसिर १४ गते हुने गैरहेको उपनिर्वाचनको लागि आज देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा भने भोली देखि आचारसंहिता लागू हुने भएको हो ।
आचारसंहिता राजनीतिक दल र उम्मेदबारका साथै आमसञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, पर्यवेक्षक कर्मचारी लगायतलाई लागू हुने छ । आयोगले विज्ञप्ती जारी निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ र नीतिगत निर्णयका प्रावधानहरू गरी सबैका लागि छुट्टाछुट्टै आचारसंहिता तोकेको जनाएको छ ।
आचारसंहिता लागू भए देखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसार, नयाँ कार्यक्रम, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न नहुने, पद सृजना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने, सरुवा, बढुवा गर्न वा काज खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनु पर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचन सम्बन्धी जिम्मेवारी दिन नहुने आयोगले जनाएको छ ।
राजनीतिक दलको हकमा भने शनिवार देखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभए सम्म र उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मिति देखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म आचारसंहिता लागू हुने छ ।