अत्तरिया - कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम सुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम सुरु गरेको हो ।
छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही आइतबारबाट वडा नम्बर ४ मा जग्गा नाप नक्साको काम सुरु भएको छ । नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले वडा नम्बर ४, मैतुवा गाउँका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि जग्गा नाप कार्य शुभारम्भ गरिएको जानकारी दिए ।
नगरपालिकाले पहिलो चरणमा वडा नम्बर १२, ११, ४ र १ मा जग्गा नाप नक्साको काम सकेर लालपुर्जा वितरणको प्रक्रिया थाल्ने जनाएको छ । त्यस्तै बर्दगोरिया गाउँपालिकाले पनि भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु गरेको छ । शनिबार लालपुर्जा वितरण कार्यक्रमको शुभारम्भ गर्दै पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर ३ का ६ जनालाई पुर्जा वितरण गरेका हुन् ।
पालिका अध्यक्ष कुँवरले वडा नम्बर ३ मा पहिलो चरणमा रातो फारम भरेका मध्ये सरकारले उपलब्ध गराउने जग्गा नलिई आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहने व्यक्तिलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताए ।
अध्यक्ष कुँवरले भने , “रातो फारम भरेर सरकारी मापदण्डका आधारमा जग्गा लिन चाहनेहरूको व्यवस्थापन भूमि आयोगमार्फत सङ्घीय सरकारले गर्ने छ, तर आफूले उपभोग गरेको जग्गा मात्रै लिन्छौँ भन्नेहरूलाई आयोगमार्फत सिफारिस गर्ने काम भइरहेको छ ।”
पुर्जा पाउनेमा वडा नम्बर ३ का रामबहादुर नेपाली, नन्दकला खत्री, गौरी दमाई, मिलन ओली, अम्मरबहादुर विश्वकर्मा र रमादेवी विश्वकर्मा छन् । उनीहरूलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा पुर्जा हस्तान्तरण गरिएको हो ।