कंचनपुर - भुमी ब्यबस्था सहकारी तथा गरिबी निबारण मन्त्री रन्जिता श्रेष्ठले सरकार सबै भुमिहिन शुकुम्बासीलाई जग्गा को मालिक बनाउने तर्फ लागेको बताएकी छन् ।
कंचनपुर को कृष्णपुर मा शनिबार ६५ परिवारलाई लालपुर्जा बितरण गर्दै उनले यस्तो बताएकी हुन । उनले अब सरकारले देशैभरीका जमिन नभएका जनतालाई जमिन वितरण गर्ने समेत उदघोष गरिन ।
"अहिले शुरुवात भएको छ । देशभर बितरण प्रक्रिया शुरु पनि भएको छ । देशभरका अव्यवस्थित बसोबासीहरु जग्गाको मालिक बन्ने छन् । सरकार अहिले त्यही काममा लागिपरेको छ" उनले भनिन् ।
मन्त्री श्रेष्ठले अव्यवस्थित बसोबासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता जाहेर गरिन ।
‘मैले राजस्व घटाउने बारेमा मन्त्रीपरिष्दमा विषय उठाउँछु, ‘मन्त्री श्रेष्ठले भनिन, ‘सबै ठाँउबाट राजस्व बढि भएको गुनासो आएको छ, मन्त्रालयले यसमा हेर विचार गर्छ, सम्बोधन पनि गर्छ ।"
नयाँ संविधान निर्माण यता जनतालाई लालपुर्जा दिने कृष्णपुर पहिलो नगरपालिका हो । कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले नगरका जनतालाई जमिनको मालिक बनाउने कामकाज निरन्तर अघि बढाउने बताए ।
‘अहिले यो शुरुवात हो, ‘उनले भने, ‘हामीले लालपुर्जा वितरण कार्य निरन्तर अघि बढाउँछौँ ।’
मेयर ओझाले चुनावका बेला जनतालाई लालपुर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै उक्त बाचा पूरा गरेर नै छोड्ने बताए ।
कार्यक्रममा नापी बिभागका केन्द्रिय अध्यक्ष जनक राज जोशी, प्रदेश सांसद गिता चौधरी , भुमी आयोगका कंचनपुर अध्यक्ष देबेन्द्र ढुंगाना लगाएतले बाँकी छुटेकाहरुलाई पनि छिटो लालुपुर्जा दिनुपर्ने धारणा राखेका थिए ।