धनगढी - सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
आगामी आर्थिक वर्ष २०८०-८१ का लागि उपमहानगरपालिकाले अनुमानित बजेट दशौं नगर सभाबाट सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरी कुल एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
उपमहानगरपालिकाले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालु वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
क्षेत्रगत रुपमा सामाजिक विकासतर्फ सबभन्दा बढि कुल बजेटको ४० दशमलव ६४ प्रतिशत ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख २४ दशमलव ५३ प्रतिशत तथा आर्थिक विकासतर्फ ७४ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ ।
यो बजेटले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र हाम्रो धनगढी हामी बनाउँछौँ अभियानमा सबैको साथ, सहयोग पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।