धनगढी - गर्मी बढ्दै गएपछि कैलालीका विभिन्न सिमसार क्षेत्रमा रहेका प्राकृतिक ताल सुक्न थालेका छन् । गर्मीका कारण तापक्रम बढ्दै जाने र लामो समय वर्षा नहुने भएपछि यसको असर प्राकृतिक तालमा समेत देखिन थालेको छ।
विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीलगायत धेरै प्राकृतिक तालमा वर्षभरि पानी रहन्थ्यो । त्यस्ता पोखरीमा माछापालन सुरु गर्न थालेपछि गर्मी मौसममा ताल सुक्ने गरेको बताइन्छ। घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडी, नकरोड, बैसहुवा, बुढिया नकरोड, रामफल, बिचका चटिया, सोनपोखरी, खेरहुवा, सेमरहुवा, चन्दरबिजुवा, बुकुवा, चटिया, पूर्वी ओजहुवा, ओजहुवा, टेग्नहुवा, टेडी, पर्सिहिनिया, टिनचटिया, पुरैना, बन्द्रहुवा, पल्पलिया, भुन्फहिया, देउकलिया र रमटलिया गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् ।
तीमध्ये अहिले वर्षैभरि प्राकृतिक रूपमा पानी जम्ने केही ताल मात्र छन् । गत वर्षसम्म पानी जम्ने घोडाघोडी तालसँगै जोडिएको पश्चिमपट्टि रहेको तेडी पर्सेनीय तालमा हिजोआज कमिला हिँडेको देखिन्छ । २.७५ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा केही वर्षदेखि माछापालन गर्न थालिएको थियो । बोरिङको पानीले तालमा पानी सञ्चित गरेर माछापालन गरिँदै आए पनि यो वर्ष बोरिङसमेत सुकेपछि अहिले सो ताल चौरमा परिणत भएको छ ।
घोडाघोडीमा यस्तै अवस्थामा अन्य पाँच वटा ताल रहेका छन् । ओझुवा, पूवी ओझुवा र टग्नुवा तालसमेत सुक्ने अवस्थामा पुगेका छन् । ती तालमा समेत बाहिरबाट पानी सञ्चित गरेर माछापालन तथा डुङ्गा सयर गराउने गरिएको छ । रामसार सूचीमा सूचीकृत हुँदा घोडाघोडी तालसँग २० वटा ताल सूचीकृत भएको र ती सूचीकृत तालमध्ये छ वटा ताल सुकेर चौरमा परिणत भएको हिरुलालले जानकारी दिए । टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मैना ढकालले टेग्नुवा ताल वर्षैभरि पानी भइरहने ताल भए पनि गर्मीको समयमा बोरिङबाट पानी सञ्चित गर्नुपर्ने भएको बताए ।