बैतडी - वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन सकेको छैन् । यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेका डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यहाँको सिगास, पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरका सामुदायिक वनमा बढी डढेलो लागेको देखिन्छ ।
सिगासको सेला, घट्टे, सिगासको भूमिराज, बोटबिरुवा, धुरा, उदयदेव, महादेव, साँगडा र खेतीलगायतका सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।
पाटन नगरपालिकाको उदयदेव, दहबयाला, ठुलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वनको १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी दुई दशमलव पाँच हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीनरतीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । सामुदायिक वनहरूमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट भएको वन कार्यालयले जनाएको छ ।