कैलाली - कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन्। समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ।
बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ। कैयौं वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ। ‘सिँचाइको समस्या छ। बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन,’ स्थानीय कलशराम डङ्गौरा भन्छन्, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन।’
वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पु¥याएको छ। किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउँछन्। ‘पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो। भित्र्याउन कठिन हुने थियो। यस वर्ष मौसमले साथ दिएको छ,’ उनले भने, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ।’
भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन्। वर्षातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ। फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइँनभ्याइँ छ। बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले २ पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन्। बाढीले क्षति नपु¥याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ। - रासस