डडेल्धुरा- अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक को माग गर्दै डडेल्धुराका जनप्रतिनिधिसहितको टोली सिंहदरवार पुगेकाे छ। काठमाडौं पुगेको टोलीले अस्पतालमा चिकित्सक नहुँदा नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित रहेको गुनासो गरेर उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सोमबार ज्ञपनपत्र बुझाएकाे हाे ।
जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पताल हाल एक जना चिकित्सकको भरमा संचालन भइरहेको छ। दरबन्दी अनुसारका चिकित्सक नहुँदा संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा परेको छ।
ज्ञापनपत्र बुझाउन प्रतिनिधिसभा सदस्य निरादेवी जैरुको नेतृत्वमा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउद, अमरगढी नगरपालिका वडा नं ३ का अध्यक्ष गोविन्द बोहरालगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनैतिक दल, बार एसोसियसन, नागरिक समाज, पत्रकारलगायत सम्मिलित समिति बनाइ अस्पतालमा रिक्त दरबन्दीपूर्ति र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई घचघचाउने प्रतिबद्धता जनाइएको थियो। सोही अनुसार जनप्रतिनिधिसहितको सर्वपक्षीय टोली काठमाडौं पुगेको हो।