महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेका पाँच वटै गल्लीका सडकहरुलाई ब्यवस्थित र फराकिलो बनाई नाली सहित पक्की सडक बनाउने प्रक्रिया सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका अन्र्तगत पर्ने महेन्द्रनगर बजारका रहेका पुराना साघुरा गल्लीहरुलाई नाली सहितका पक्की बनाउने प्रक्रिया सुरु भएको हो ।
नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत पाँच वटै गल्लीमा ठूलो लगानीमा नाली सहितको पक्की सडक बनाउन लागेको हो । यसका लागि नगरपालिकाले एक अर्ब ७६ करोडको बोलपत्र आह्वान गरि सकेको छ । नगरपालिकाको पहिलो नगर सभा बाटै महेन्द्रनगरलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना शहर बनाउने नीतिगत निर्णय गरिएको थियो ।
महेन्द्रनगर बजारलाइ गुरुयोजना बनाएर बसाइएकोमा अब व्यवस्थित र आधुनिक बनाउन पक्रिया अघि बढेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुुरेन्द्र विष्टले बताए । गुरुयोजना अनुसार निर्माण गरिएको शहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदैब सकारात्मक र सक्रिय रहेको नगर प्रमुख विष्टले बताए । नगरपालिकाका अनुसार सबै सडक सात दशमलव ५० मिटर चौडा र आधुनिक हुनेछन् । सडक निर्माण भए संगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ ।
बजारको फुटपाथ समेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरका अनुसार पाँचै गल्लीमा नाली सहित उच्च गुणस्तरीय सडक बनाइने भएको छ । साथै गल्ली सहित बजार आसपासका सडक पनि बनाइने बताए । अहिले भएका सडक पूर्ण रूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले जानकारी दिए ।
बजार सहित मदन चोक देखि मझगाउँ विमानस्थल, भानुचोक देखि विष्णुमन्दिर सडक नरह सम्म, भाँसी देखि रौटेला सडकको नहर सम्म, महाकाली अस्पताल देखि ट्राफिक चोक, स्थानीय भीमपार्क देखि सालघारी कालिका मन्दिर, हुलाक देखि भगतपुर, भानुचोक देखि सब्जीमन्डी सम्मका सडक नयाँ निर्माण गरिने इञ्जिनीयर ऐरले जानकारी दिए ।