धनगढी - आफैँ बिरामी जस्तो अवस्थामा रहेको सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका रूपमा विकास गरेपछि यस अस्पतालको मुहार फेरिएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका जनताको स्वास्थ्य उपचारसँग जोडिएको सेती प्रादेशिक अस्पतालले हरेक वर्ष सेवासुविधा बढाएसँगै उपचारमा आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ ।
विसं १९९७ मा स्थापना भई १५ शैय्याबाट उपचार सेवा सुरु गरेको सो अस्पताल २०४० सालमा अञ्चल अस्पतालका रूपमा ४० शैय्यामा विस्तार भएको थियो । २०६१ सालमा ५० शैय्या र अस्पताल विकास समितिबाट ७५ शैय्या गरी १५० शैय्या पु–याएर सेवा विस्तार भएको देखिन्छ ।
अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पताल भएसँगै हाल ३५० शैय्याबाट सेवा दिइरहेको बताए । अस्पतालले उपचार सेवा विस्तारका साथै विज्ञ चिकित्सक भित्र्याएपछि बिरामीको चाप पनि बढेको छ । सूचना अधिकारी उपाध्यायका अनुसार अहिलेसम्म प्रदेश सरकारको सहयोगमा अस्पतालमा कार्डियोलोजी, न्युरोलोजी, युरोलोजी, डाइग्नोसिस, कोलोनेस्कोपी, कोभिड टेस्टका लागि पिसिआर ल्याब, माइक्रोबायोलोजीलगायतका सेवा प्रदान गरिएको छ ।
गत पुसमा प्रदेश सरकारकै सहयोगमा सिटी स्क्यान सेवासमेत विस्तार गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको लागतमा अस्पतालले सिटी स्क्यान मेसिन खरिद गरेको हो । सूचना अधिकारी उपाध्यायले एमआरआई सेवा पनि केही समयपछि दिने गरी मेसिन खरिद प्रकृया अगाडि बढेको जानकारी दिए ।
सरकारी अस्पतालमा सुविधा नहुँदा यहाँका बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा सिटी स्क्यान, एमआरआईलगायतका परीक्षण गराउनुपर्ने बाध्यता थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले उपचार नपाएर भारत तथा नेपालगन्ज, काठमाडौँ धाउनुपर्ने बाध्यतालाई सेती प्रादेशिक अस्पतालले अन्त्य गर्दै गइरहेको बताए ।
‘अस्पतालको भौतिक संरचना र जनशक्ति अभावले उपचारमा आउने बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको छैन,’ अध्यक्ष शाहले भने । अस्पतालको प्रसूति रहेको क्षेत्रमा दुई अर्ब रुपियाँको लगानीमा नयाँ भवन निर्माणका लागि नौतले भवनको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । बेसमेन्टसहितको सुविधासम्पन्न भवन निर्माणको प्रव्रिmयामा प्रदेश सरकार रहेको छ ।
अहिले अस्पतालमा दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय जनाले उपचार सेवा लिँदै आएका छन् । वर्षमा तीनदेखि चार लाख जनाले उपचार सेवा लिएका जनाइएको छ ।
अध्यक्ष शाहले भने ‘सेवा विस्तार भएसँगै अस्पताल बिरामीका लागि आकर्षणको केन्द्र भएको छ ।’ हाल अस्पतालमा नेपाल सरकारको १०७ जनाको दरबन्दी र अस्पताल विकास समितिको ८६ जनाको स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । ४७ जना मेडिकल अफिसरले विभिन्न विशेषज्ञ सेवा दिइरहेका छन् ।
अस्पतालको अर्को ठुलो र महत्वपूर्ण काम अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नु पनि हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको करिब दुई करोड रुपियाँको लागतमा खरिद गरिएको अक्सिजन प्लान्ट जडान गरी उत्पादन गर्न सुरु गरिएको छ । अस्पताल परिसरमै निर्माण गरिएको प्लान्टबाट सबै वार्डमा पाइपमार्फत अक्सिजन पठाइएको छ भने नपुगेका वार्डका लागि सिलिन्डर भरिएको छ ।
अस्पतालले नवजात शिशुका लागि एनआइसियु वार्ड र डायलासिस सेवा पनि दिइरहेको छ । विगतमा निजी संस्थाबाट सेवा पाइरहेका यहाँका बिरामीले हाल सेती प्रादेशिक अस्पतालबाट निःशुल्क डायलासिस सेवा पाइरहेका सो वार्डका इन्चार्ज सुनिता रानाले बताईन ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालमा हरेक वर्ष २५ देखि ३० करोड रुपैयाँको हाराहारीमा बजेट छुट्याउने गरेको जानकारी दिए । गोरखापत्रबाट