बैतडी - मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ । मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका २७ जना बालबालिकालाई त्यहाँको एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ ।
मानव तस्करी र बलात्कारको आरोपमा केही भारतीयमाथि मुद्दासमेत चलाइएको छ । मानव तस्कारीबाट पीडित बालबालिका र महिलाको हितमा काम गर्दै आएको उज्वला पुनर्वास केन्द्रका सचिव सुरेन्द्र आर्यले मानव तस्करको फन्दामा परेका २७ जना नेपाली बालबालिकालाई उद्धार गरेर उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको बताए ।
उनका अनुसार बालकल्याण समितिले उद्धार गरेर केन्द्रमा ल्याएका २७ जना बालबालिकामध्ये १७ जना बालश्रममा लगाइएका र १० जना यौन शोषणमा परेका पाइएको छ । उद्धार गरिएका बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका रहेका छन् ।
गरिब तथा टुहुरा बालबालिका मानव तस्करको जालोमा फसेर भारतको पिथौरागढ पुग्ने गरेको पाइएको छ । १० देखि १८ वर्ष उमेरका बालबालिकालाई श्रममा लगाउने, बेचबिखन र यौन शोषण गरेको आरोपमा केही भारतीयमाथि अदालतमा मुद्दा दर्ता भएको कानुन सहजकर्ता तनुजा पोखरियालले बताए ।
अदालतबाट मुद्दाको किनारा नलागुन्जेलसम्म उद्धार गरिएका बालबालिकालाई संस्थाले खाने बस्ने र पढ्न पाउने व्यवस्था मिलाएको उहाँले जानकारी दिए ।
मुद्दाको किनारा लागेपछि बालबालिकालाई नेपाल फर्काइने उज्वला पुनर्वास केन्द्रले जानकारी दिएको छ । दार्चुला नाका भएर भारतको पिथौरागढमा बिक्री भएकी कञ्चनपुरकी एक महिलालाई संस्थाले दुई वर्ष संरक्षण दिएर मुद्दाको किनारा लागेपछि नेपाल पठाइएको संस्थाले जानकारी दिएको छ। टुहुरा र एकल महिलालाई उद्धारपछि नेपाल फर्काउन केही जटिलतासमेत रहेको संस्थाका सचिव सुरेन्द्र आर्यले बताए ।
उनले भने, “उद्धार गरिएका अधिकांश नेपाली बालबालिका टुहुरा छन् । कतिपय बालबालिका अभिभावकसँगै ज्याला मजदुरी गर्न आउँदा हराएका, आमाबुवाको दुर्घटनामा मृत्यु भएको पाइएका छन् । त्यस्ता बालबालिका तस्करको फन्दामा पर्ने गरेका छन्। उद्धार गरेर नेपाल फर्काउन कानुनी झन्झट रहेको छ ।”
भारतीय बालकल्याण समितिको सहजीकरणमा यस्ता बालबालिकालाई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने विषयमा नेपाली अधिकारीहरूसँग छलफल गरेर टुङ्गो लगाउने उनले बताए । गोरखापत्रबाट