अत्तरिया - आउँदो मंसिरमा सुदूरपश्चिमका पाँच जिल्लाहरुमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका कञ्चनपुर, डोटी, बैतडी, अछाम र बाजुरा जिल्लाहरुमा उप–निर्वाचन हुने भएको हो ।
पाँच जिल्लाका सात वडामा उप–निर्वाचन हुने छ । वडा अध्यक्ष विहीन रहेको कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ , डोटीको आदर्श गाउँपालिका २ , अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्िचत भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएको , डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईंको मृत्यु भईसकेकाले उपनिर्वाचन हुदै छ ।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेकाले बैतडीका तिन वडामा उपनिर्वाचन हुने भएको छ । यहाँ रहेका विभिन्न पार्टीले उपनिर्वाचनका लागि आन्तरिक तयारी थालिसकेका छन्।
यसैबिच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरी ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। पालिका प्रतिनिधिको उम्मेद्वारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ । कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता , २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ । यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।