डडेल्धुरा - डडेल्धुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डडेलधुरा–कैलाली जोड्ने भीमदत्त पन्त राजमार्ग छेउछाउसँगै जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । वन जङ्गल अतिक्रमण गरी बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दा महाभारत वनको घनाजङ्गल क्षेत्र मासिँदै गएको छ। यहाँको कुल वन क्षेत्र एक लाख १५ हजार १६९ हेक्टर रहेको छ। सोमध्ये महाभारत पर्वतको वन जङ्गलले ५३ हजार हेक्टर क्षेत्रफल ओगटेको छ।
तर महाभारत वन क्षेत्र पछिल्लो समय आधा पनि बाँकी नरहेको स्थानीयको भनाइ छ। महाभारत पर्वत भएर सडक विस्तार भएपछि वन क्षेत्रमा अतिक्रमण बढेको स्थानीय नारायण देउवाले बताए ।
२०३२ सालमा महाभारत पर्वतको हगुल्टे, साहुखर्क भएर सडक खनिएपछि यस क्षेत्रमा अतिक्रमण बढेको उहाँको भनाइ छ। साहुखर्क र मेलखर्कमा अहिले बजार बसिसकेका छन्।
सडक खनिने बेला तीन वटा घर ९गोठ, खर्क० भएको साहुखर्कमा अहिले दर्जनभन्दा बढी पसल, होटल र दुई दर्जन घर छन्। राजमार्ग छेउमा जङ्गल नभई खेती गरिन थालिएको छ। महाभारत पर्वत क्षेत्रमा घना वन जङ्गल भएका कारण पानीको मुख्य स्रोत पनि हो।
डडेलधुरा जिल्ला सदरमुकाम, भागेश्वर गाउँपालिका, गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको जलस्रोतको भण्डार महाभारत पर्वत नै भएको भनाइ स्थानीय वातावरण संरक्षणकर्मीको छ। धार्मिक सांस्कृतिक रूपमा पनि महाभारत पर्वत क्षेत्रमा भागेश्वर, घण्टेश्वर, लाटा गन्याप शिखरधुरा र घटाल देवताका मन्दिर छन्। करिब दुई हजार सात सय मिटरको उचाइ भएको महाभारत पर्वत क्षेत्रमा विभिन्न प्रजातिका वन्यजन्तु र बहुमूल्य जडीबुटी पाइन्छन।
जैविक विविधता, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महाभारत क्षेत्र संरक्षणविहीन बन्दै जान थालेकोमा चिन्ता बढेको छ। नयाँ स्थानमा भएको अतिक्रमण रोक्ने प्रयास भए पनि पुरानो बस्ती उठाउन नसकेको डिभिजन वन कार्यालय डडेलधुरा प्रमुख रामविचारी ठाकुरले बताए ।
सरकारले भूमि व्यवस्था आयोगमार्फत अव्यवस्थित बसोवासी, सुकुमवासीलाई लालपुर्जा दिने गरी जग्गाको नापजाँच गरिरहेकाले अतिक्रमण हटाउन नसकेको उनको भनाइ छ।
२०६८ सालमा सरकारले स्वीकृत गरेको महाभारत संरक्षण कार्ययोजना अहिलेसम्म राजपत्रमा प्रकाशित हुन सकेको छैन। डिभिजन वन अधिृकत ठाकुरले भने, “१२ वर्षअघि बनेको कार्ययोजना कार्यान्वयनमा आउन नसक्दा अनधिकृत गतिविधिले मौका पायो।” अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले १२ वर्षको अवधिमा भएका अनधिकृत गतिविधिले महाभारत क्षेत्रको स्वरूप नै फेरिएको बताए। यो अवधिमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना जथाभाबी बनेका तीन सय जति सडकले आधाभन्दा बढी जङ्गल क्षेत्र अतिक्रमण गरेको छ, उनले भने
जिल्ला वन अधिकृत सुरेश डिसीका अनुसार डेढ दशकमा महाभारतमा रहेका ७० प्रतिशत बढी पानीका स्रोत सुकेका छन्। उनका अनुसार जथाभाबी डोजर लगाएर बनेका सडकले धेरैजसो पानीका स्रोतले जमिनमुनिबाट बाटो फेरेका छन् भने अधिकांश स्रोत सुकेका छन्।
डडेलधुराको जीवन रेखा मानिएको महाभारत मासिन थालेपछि जिल्लाको एक लाखभन्दा बढी जनसङ्ख्याले सात वर्षदेखि जलसङ्कट बेहोरिरहेको छ। एक दशकमा झन्डै १८ हजार हेक्टर क्षेत्रफल अतिक्रमण भएको अनुमान गरिएको छ। गोरखापत्र