नयाँ दिल्ली - धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरूसहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेको छ । टोलीले पहिलो दिन यहाँका तीनवटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ ।
टोलीले सहिद हेमु कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलको अवलोकन गरेको छ ।
अवलोकन टोलीले यी विद्यालयमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरूसँग छलफलसमेत गरेको छ ।
कक्षाकोठामा विद्यार्थीको भौतिक उपस्थितिविना दिल्ली मोडल भर्चुअल स्कुलले कसरी पठनपाठन गरिरहेको छ भनेर टोलीले विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुका साथै पठनपाठनका क्रममा अपनाउने गरिएको प्रविधिबारे पनि जानकारी लिएको छ ।
दिल्ली मोडल भर्चुअल स्कुलका प्रधानाध्यापक बिके शर्माले विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीलाई लक्षित गरेर भर्चुअल माध्यमबाट पठनपाठन हुने गरेको बताए ।
पारिवारिक समस्या भएका, क्रिकेटलगायत खेलकुद एकेडेमीमा भर्ना भएर नियमित विद्यालय आउन नसक्ने बालबालिकाका लागि आफूलाई फुर्सद भएको जुनसुकै वेला पनि कक्षा लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।