धनगढी - सोमबार कैलालीको धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ । धनगढी रंगशालामा आयोजित विशेष समारोहमा नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजालाई सुदूरपश्चिमका नागरिकका तर्फबाट अभिनन्दन गरेको हो ।
पूर्वराजा शाहले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको बताएका छन् । राजनीतिक दलका नेताहरू तर्फ लक्षित गर्दै आजको आवश्यकतालाई नदेखेर कुरा बटारेर, अल्मल्याएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काएर देशको स्थिति नसुध्रिने पूर्व राजाले बताएका छन् ।
नागरिक अभिनन्दनका क्रममा उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका छन् ।भुटानी शरणार्थी प्रकरणका विषयमा पनि पूर्व राजा शाहले धारणा राखेका छन । नेपाली जनतालाई आफ्नो भू – भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको उनको टिप्पणी छ ।
पूर्व राजा शाहले देशभित्रै बसौं, देशमै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको भन्दै चिन्ता समेत प्रकट गरेका छन । सो क्रममा ‘नयाँ नेपाल’प्रति व्यंग्य गर्दै पूर्व राजाले के नयाँ नेपाल भनेको यही हो रु भनि प्रश्न समेत गरे ।नेपालको दारुण दृश्य देख्दा सबैको आँखा रसाउँदै गएको उल्लेख गर्दै पूर्व राजा शाहले आजको युग विकास र प्रविधिको भएको तथा आफ्नै श्रोत साधन, आफ्नै सामथ्र्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा नेपालीले आफ्नो युगानुकूल उन्नति चाहेको बताए ।
नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचे देशभन्दा ठूलो अरु केही नहुने उनको भनाइ छ । भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार – नेपाली जनतालाई नै जिम्मा दिनुपर्ने पनि सम्बोधनका क्रममा पूर्वराजाले बताए ।
अभिनन्दन कार्यक्रममा सुदूरपश्चिमका जिल्लाबाट सयौं सर्वसाधारण सहभागी भएका थिए ।